कञ्चनपुरको पुनर्वासमा कृषी र पशु बिकासमा आधारीत “साना किसान युवा उद्यमशीलता विकास कार्यक्रम” लागु भएपछी झण्डै २ हजार घरधुरी लाभान्बीत भएका छन् । पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपालको साझेदारीमा निड्स नेपालद्धारा ८० वटा महिला स्वावलम्बन समूह नै बनाएर पालिकाको ११ वटा वडामा बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । उक्त कार्यक्रम लागु भएपछी समुहका सदस्यहरुलाई आधारशिला तालीम दिनुका साथै प्रजनन् योग्य उन्नत जातको बोका र बाख्रा बितरण गरीएको छ । हालसम्म २ सय ६ घरधुरीलाई बाख्रा र ३७ घरधुरीलाई प्रजनन योग्य बोका बितरण गरीसकेको छ । पुनर्वास ६ र ९ बस्दै आएका सपना डिम्डुङ र कौशीला देबि सुनारले प्रजनन् योग्य उन्नत जातको बोका प्राप्त गरेपछी अहिले राम्रै कमाइ गर्दै आएका छन् ।
सपना डिम्डुङको कथा :
कञ्चनपुरको पुनर्वास नगरपालिका, जहाँ पहिला सपना डिम्डुङको जीवन पनि धेरै आम ग्रामीण महिला झैं सीमित थियो । १६ वर्षको कलिलो उमेरमा विवाह गरेपछि उनको जीवन गृहस्थी, खेतबारी र परिवारमै सीमित रह्योे । तर अहिले सपना हिमचुली स्वावलम्बी महिला समूहकी अध्यक्ष छिन्, आत्मनिर्भरता र सामुदायिक नेतृत्वको प्रतीक बनि सकेकी छन् । सपना भन्छिन् पहिला त लाग्थ्यो संघसंस्था त आउँछन् जान्छन् केही परिवर्तन हुँदैन । तर अहिले म आफैँ भन्छु चाहाना, आँट र साथ मिल्यो भने गाउँमै परिवर्तन सम्भव छ ।
पुनर्वास नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र निड्स नेपालको सहकार्यमा गाउँमा आएको कार्यक्रमले उनको जीवनलाई नया मोड दियो । समूह गठन भयो, सपना अध्यक्ष बनिन् । सुरुमा शका थियो, तर काम सुरु भएपछि हरेक दिन उत्साह थपिंदै गयो । समूहका केही सदस्यहरूले बाख्रा पाए, सपना आफैंले प्रजनन् योग्य उन्नत नश्लको बोका पाइन् । त्यसबाट उनले आम्दानी लिन थालिसकेकी छन् । अब उनको समूहले उपहार स्वरूप समूहका अन्य सदस्यहरूलाई पनि बाख्रा वितरण गर्ने योजना बनाएको बताउँछीन् ।
पहिले बोका नपाएर बजार जानुपथ्र्यो, आइ.बि.आर.डी बजारसम्म पुग्ने बाध्यता थियो, अहिले हामीसँग आफ्नै बोका छ । नश्ल राम्रो छ, पाठा–पाठी पनि बलिया छन्, उनी मुस्काउँदै भन्छिन् । आधारशिला तालिमले त हाम्रो सोचै फेरेको छ सपना थप्छिन्, अब समूहमै काम गर्दा कसरी एकअर्काको सहयोगी बन्न सकिन्छ भन्ने बुझेका छौं । आज सपना केवल बाख्रापालक किसान मात्रै होइनन्, उनी सामुदायिक प्रेरणाको स्रोत बनेकी छन् । आत्मनिर्भरता, सहकार्य र इच्छा शक्तिको मिलन हो — सपनाको यो यात्रा ।
कौशीला देवी सुनारको कथा :
यहि कार्यक्रम मार्फत कौशीला देवी सुनार पनि यतिबेला गाउँमै आत्मनिर्भरता र सशक्तिकरणको कथा बुनिरहेकी छन् । महाकाली स्वावलम्बी महिला समूहकी उपाध्यक्षका रूपमा सक्रिय कौशीला अहिले बिहानदेखि साँझसम्म बाख्रा र बोका स्याहारमै व्यस्त छिन् — तर यही व्यस्तता नै उनको आत्म गौरवको मूल आधार बनेको छ ।
सपना जस्तै म पनि अब परिवर्तनको यात्रामा छु, भन्छिन् कौशीला, जसको दिनचर्या नै अहिले फेरिएको छ । पहिले यस्तो उन्नत बोका कहिल्यै देखिएको थिएन, भन्दै उनी दुईवटा बलिया पाठा देखाउँदै भन्छीन्, हेर्नुस् त, यी त जम्मा ५ महिनाकै भए, तर हेर्दा दुई वर्षका जस्ता देखिन्छन् । माशु त निकै छ, भन्दै गर्दा उनको अनुहारमा झल्किएको मुस्कान आजीवन संघर्ष पछि पाएको सन्तोष जस्तो लाग्छ ।
प्रजनन् योग्य उन्नत जातको बोका पाएपछि कौशीलाले हालसम्म त्यसबाट मात्रै ३०–४० हजार रुपैयाँ कमाइसकेकी छन् । अब त बाख्रा र पाठापाठीको त कुरै छैन, भन्दै उनी थप्छिन् यो त सुरुवात मात्र हो, अव ब्यवसायीक रुपमै काम सुरु गर्छु । कौशीला भन्छिन्, समूहमा आबद्ध भएपछि मात्रै मैले थाहा पाएँ, मिलेर काम गर्न सकियो भने गाउँमै अवसर कति छन् । बोका पाएको दिन सम्झँदा अझै उत्साहित हुन्छु ।
उनको अनुभवले देखाउँछ, जब महिलाहरूलाई अवसर, सीप र साथ दिइन्छ, उनीहरू केवल आफ्नो जीवन होइन, गाउँको सामाजिक तथा आर्थिक संरचना समेत परिवर्तन गर्न सक्षम हुन्छन् । कौशीलाको आत्मविश्वास र सामूहिक सहकार्यमा अडिएको यो यात्रा आज धेरै ग्रामीण महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
सपना र कौशीला जस्ता महिलाहरूको कथा कुनै संयोग होइन, यो योजनाबद्ध प्रयास, सामूहिक प्रतिबद्धता र स्थानीय स्तरमै सिर्जना भएको अवसरको परिणाम हो । उनीहरूको आत्मविश्वास र परिवर्तनको कथा, गाउँको बाटो हुँदै देशैभरिका महिलाहरूका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।
Source: https://anmolpress.com/