Back to News

    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’

    News
    July 7, 2025
    Needs Nepal Team
    शुक्लाफाँटाका विपन्न परिवारले पाए नयाँ घर, भन्छन्– ‘अहिले ढुक्कसँग सुत्न पाएका छौं’

    महेन्द्रनगर। निलो रङले सजिएका, चिटिक्क परेका २ कोठे पक्की घरहरू। छानादेखि भित्तासम्म एउटै रङ। नजिकै शौचालय। यो दृश्य हो शुक्लाफाँटा नगरपालिका–१० स्थित सिमलखेतको, जहाँ विपन्न ११ परिवारको नयाँ जीवन सुरु भएको छ। वर्षौदेखि कच्ची घरमा बस्दै आएका परिवारले सुरक्षित आवास पाएपछि बस्तीमै उत्साह र खुशीयाली छाएको छ। नगरपालिका र सहयोगी संस्थाको सहकार्यबाट बनाएका घरले बस्तीको सौन्दर्य पनि बढाएको छ।

     

    वर्षौदेखि माटो र काठको कच्ची घरमा जीवन बिताइरहेका सिमलखेतका गर्णेश सार्कीका लागि पक्की घर सपना मात्रै थियो। उनले बाँचुन्जेल पनि यस्तो घरमा बस्न पाइन्छ भन्ने विश्वास थिएन। तर अब त्यो सपना उनका लागि यथार्थ बनेको छ। ६ जनाको परिवारको साथमा रहेका गणेश १० दिनअघि मात्रै नयाँ घरमा सरेका हुन्।

     

    ‘यो मौसममा बढी दुःख हुन्थ्यो, पानी पर्दा छानो चुहिन्थ्यो, सत्नै सकिन्नथ्यो,’ उनले भने, ‘अहिले पक्की घर पाउँदा सुरक्षित महसुस गरेका छौं।’ सिमलखेतकै जयराज सार्की केही दिनअघिसम्म रातमा सुत्दा बिहान के हुने हो भन्ने अनिश्चिततामा बाँचिरहेका थिए। अहिले पक्की घर पाउँदा उनमा त्यो डर छैन्।

    ‘सर्प बिच्छीको डरै डरमा रात बित्थ्यो,’ अहिले घर पाएका छौं, ढुक्कसँग सुत्न पाएका छौं,’ उनले भने, ‘यो घर पाउँदा साँच्चै नागरिक भएको जस्तो लागेको छ, आत्मविश्वास पनि थपिएको छ।’ उनको परिवारमा ५ जनाको परिवार छ। पहिले एउटै कोठामा जसोतसो गुजारा गरिरहेका उनी अहिले २ कोठाको घरमा बस्न पाउँदा खुशी मात्र होइन, गौरव पनि महसुस गरिरहेका छन्।

     

    ‘अब स्वरोजगार हुन पाए हुन्थ्यो,’ जयराज भन्छन्, ‘सीपमूलक तालिम, गाईभैंसी वा अन्य सहयोग मिल्यो भने जीवन नै फेरिन्थ्यो, सहयोग पाउनेमा आशावादी छौं।’ सुरक्षित आवास कार्यक्रम अन्तर्गत विपन्न परिवारका लागि घर निर्माण गरिएको शुक्लाफाँटाका नगर प्रवक्ता लालबहादुर ऐरले बताए।

     

    उनका अनुसार ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र नगरपालिकाको साझेदारीमा ११ घर निर्माण गरिएको छ। नगरपालिकाको २ लाख ५० हजार, ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको २ लाख ५० हजार र नागरिकको १ लाख गरेर ६ लाख लगानीमा एउटा घर निर्माण भएको छ।

     

    सिमलखेतका नागरिकलाई आत्मनिर्भर बनाउन १० लाख बजेट विनियोजन गरिएको नगर प्रवक्ता ऐरले बताए। ‘उनीहरुलाई स्वरोजगार तथा उद्यमतर्फ जोड्नका लागि प्रदेश सरकारसँग आग्रह गरेर १० लाख बजेट विनियोजन गराएका छौं,’ उनले भने, ‘उनीहरुलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउँछौं।’

    Source: https://satyadrishya.com/

    Other News